Kathmandu Metropolitan City-26, Mitranagar 985-1107198 hoteltourismassociation@gmail.com

रात्रिकालीन बस सेवाले होटल व्यवसाय र पर्यटन क्षेत्रमा नयाँ आशा जगायो : अध्यक्ष बराल

वैदेशिक राेजगार खबर २०८३ वैशाख ३ बिहीवार १०:१० 02 May, 2026

रात्रिकालीन बस सेवाले होटल व्यवसाय र पर्यटन क्षेत्रमा नयाँ आशा जगायो : अध्यक्ष बराल

काठमाडौं । काठमाडौंमा सुरु गरिएको रात्रिकालीन बस सेवाले पर्यटन तथा होटल व्यवसाय क्षेत्रमा सकारात्मक ऊर्जा थपिएको भन्दै जिल्ला होटल संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले यसलाई श्रमिक, व्यवसायी र सर्वसाधारण सबैका लागि उपयोगी कदमका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार रातिको समयमा सार्वजनिक यातायातको अभाव हुँदा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कार्यरत धेरै कर्मचारी घर फर्किन कठिनाइ भोग्दै आएका थिए। रात्रिकालीन बस सेवा सञ्चालनमा आएपछि अब राति अबेरसम्म काम गर्ने कर्मचारी सुरक्षित र सहज रूपमा घर फर्किन सक्ने वातावरण बनेको छ, जसले होटल व्यवसाय सञ्चालनमा समेत सहजता ल्याएको उनले बताए।

अध्यक्ष बरालले रात्रिकालीन यातायात सेवा पर्यटन उद्योगको आवश्यकता भएको उल्लेख गर्दै यसले पर्यटकको आवतजावतलाई समेत सहज बनाउने बताए। “काठमाडौं पर्यटकीय सहर हो। यहाँ आन्तरिक तथा बाह्य पर्यटक रातिको समयमा पनि विभिन्न स्थानमा आवतजावत गर्छन्। यस्तो अवस्थामा रात्रिकालीन बस सेवा सुरु हुनु पर्यटन प्रवर्द्धनका लागि सकारात्मक कदम हो,” उनले भने।

साझा यातायातको यो सुविधा विस्तार भएसँगै रात्रिकालीन व्यवसाय, होटल, रेष्टुरेन्ट तथा अन्य सेवा क्षेत्रको गतिविधि बढ्नेछ, जसले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ। श्रमिकहरू सुरक्षित रूपमा घर फर्किन पाउनु व्यवसायीका लागि पनि राहतको विषय भएको उनले बताए।

बरालका अनुसार रात्रिकालीन बस सेवा सुरु हुनु स्वागतयोग्य भए पनि यसलाई अझ प्रभावकारी बनाउन सरकारी नीतिमा थप सुधार आवश्यक छ। हाल ठमेल क्षेत्रमा मात्र राति अबेरसम्म व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था रहेकाले पर्यटन तथा होटल व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको धारणा छ।

“रात्रिकालीन बस सेवा जस्तै होटल व्यवसाय सञ्चालनसम्बन्धी नीति पनि समयअनुकूल बनाउन सकियो भने होटल तथा पर्यटन क्षेत्रले थप गति लिन सक्छ,” उनले भने, “होटल व्यवसाय २४ घण्टा सञ्चालन हुन सके पर्यटकलाई सेवा दिन सहज हुन्छ, रोजगारी बढ्छ र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्छ।”

उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि यातायात, सुरक्षा र व्यवसायमैत्री नीति एकसाथ अघि बढ्नुपर्नेमा जोड दिए। होटल व्यवसायीहरू गुणस्तरीय सेवा र आतिथ्यमार्फत पर्यटन प्रवर्द्धनमा योगदान दिन तयार रहेको उल्लेख गर्दै उनले सरकारले पूर्वाधार विकास र नीतिगत सहजीकरणमा ध्यान दिनुपर्ने बताए।

अध्यक्ष बरालका अनुसार रात्रिकालीन बस सेवा राजधानीको रात्रिकालीन अर्थतन्त्र विस्तार गर्ने महत्वपूर्ण सुरुवात हो। यदि यस्तो सेवासँगै व्यवसाय सञ्चालनमा सहजता र पर्याप्त सुरक्षा व्यवस्था सुनिश्चित गरियो भने काठमाडौंको पर्यटन तथा होटल व्यवसाय क्षेत्रले नयाँ गति लिने विश्वास गर्न सकिन्छ।

Recent Post