काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशनले तुल्सीराम भण्डारी ‘शंकर’को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। । चैत २७ र २८ गते पोखरा मा सम्पन्न महाधिवेशनले भण्डारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। भण्डारी यसअघि महासंघका महासचिवका रूपमा कार्यरत थिए।
महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती, उपाध्यक्ष शैलेस कार्कि , प्रशासन उपाध्यक्षमा ज्ञानु गजमेर, महासचिवमा राजेश मलोत्रा, उपमहासचिवमा मित्र ढकाल, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ तथा सहकोषाध्यक्षमा लक्ष्मण भण्डारी निर्वाचित भएका छन्। त्यस्तै प्रशासन सचिवमा रमेश बराल चयन भएका छन् भने सदस्यहरूमा बिष्णु प्रसाद धिमिरे, शैलेन्द्र विक्रम थापा, ऋषि चौलागाईं, तिलक चापागाईं, रेनुका याक्सो लिम्बु लगायत निर्वाचित भएका छन्।
गण्डकी प्रदेशको राजधानी पोखरा मा भव्य रूपमा सम्पन्न महाधिवेशनले ६७ सदस्यीय कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्व चयनसँगै महासंघले होटल तथा पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित नेतृत्वलाई जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले बधाई तथा शुभकामना व्यक्त गर्दै युवा जोश, जागर र समयअनुकूल सोचसहितको सक्षम टोलीले पर्यटन तथा होटल व्यवसाय क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
उनले भने, पर्यटन क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको विकास, प्रवर्द्धन र व्यवस्थापनमा नयाँ नेतृत्वको भूमिका थप जिम्मेवार रहने देखिन्छ। नीतिगत सुधार, गुणस्तरीय सेवा विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा प्रभावकारी पहल गर्नुपर्ने दायित्व अहिलेको नेतृत्वमाथि आएको छ। नयाँ कार्यसमितिले समन्वय, नवप्रवर्तन र व्यवसायिक हितलाई केन्द्रमा राख्दै अघि बढेमा समग्र होटल तथा पर्यटन क्षेत्र अझ सुदृढ र उन्नत हुने विश्वास लिएको बताए।
समग्र हाेटल व्यवसायीका सराेकारका विषयहरू उजागर गरिदिनु भएकाेमा हाेटल व्यवसायी महासंघ नेपालका अध्यक्ष श्री टि.आर. भण्डारी (शंकर) ज्यूलाइ धन्यवाद ज्ञापन गर्दछाैँ ।
दामाेदर नेपाल
अध्यक्ष
हाेटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेश
काठमाडौं । काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्कबाट एकीकृत रूपमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने निर्णयप्रति जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले आपत्ति जनाएका छन्। उनले यात्री र पर्यटनमैत्री सन्तुलित यातायात नीति आवश्यक रहेको बताए ।
बरालले उक्त निर्णयले यात्रु, होटल व्यवसाय तथा समग्र पर्यटन क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर पार्ने बताएका छन्। उनका अनुसार हालको विकेन्द्रित यातायात व्यवस्थाले यात्रु चाप सन्तुलित बनाइरहेको अवस्थामा सबै सेवा एकै स्थानमा केन्द्रित गर्दा सेवा प्रवाहमा समस्या आउन सक्ने देखिन्छ।
अध्यक्ष बरालका अनुसार यसअघि काठमाडौँ उपत्यकाका कोटेश्वर, बसपार्क, बाल्खु, सातदोबाटो, टोखा, माछापोखरी लगायतका विभिन्न स्थानबाट बस सेवा सञ्चालन हुँदा यात्रु चाप छरिएर व्यवस्थापन सहज बनेको थियो। अहिले सबै सेवा नयाँ बसपार्कमै केन्द्रित गर्दा यात्रुहरूको अत्यधिक भीड बढ्छ, जसलाई व्यवस्थापन गर्न कठिन हुन्छ, उनले भने।
नयाँ बसपार्कको हालको अवस्था, सीमित क्षमता र पूर्वाधारले यति ठूलो चाप धान्न नसक्ने स्पष्ट पारे। पर्याप्त पार्किङ, प्रतिक्षालय, सरसफाइ र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार नगरी सबै सेवा एकै ठाउँमा केन्द्रित गर्नु व्यवहारिक हुँदैन, बरालको भनाइ छ।
बरालका अनुसार लामो दूरीका यात्रु तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आएकाहरु बस मार्फत यात्रा गर्नेहरूका लागि लगेज व्यवस्थापन झनै चुनौतीपूर्ण बन्नेछ। यात्रुहरूले आफ्नो बस समात्न कै लागी शहर पार गरेर बसपार्क पुग्नुपर्ने हुन्छ, जसले समय र खर्च दुवै बढाउँछ,” उनले बताए।
उनले पर्यटकहरूको व्यवहारतर्फ संकेत गर्दै भने, पर्यटकहरू प्रायः आफू बसेकै स्थान वरिपरि घुमफिर गर्न र त्यहीँबाट यात्रा सुरु गर्न रुचाउँछन्। सबैलाई एकै स्थानमा आउन बाध्य पार्दा उनीहरूको आवागमनमा असहजता आउँछ। यसले पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्र जस्ता प्रमुख गन्तव्यमा जाने पर्यटकहरूको सहजतामा असर पर्ने उनको भनाइ छ।
बरालले थपे, हाल काठमाडौंमा धेरैजसो होटलहरू विमानस्थल आसपास क्षेत्रमा केन्द्रित छन्। एकातिर विमानस्थलको नजिक हुनु र अर्कोतर्फ पशुपतिनाथ क्षेत्रको आकर्षणका कारण यहाँ भारतीय पर्यटकको आगमन उच्च हुन्छ। विशेषगरी विमानस्थल आसपासका होटल व्यवसायहरू प्रत्यक्ष रूपमा प्रभावित हुने देखिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने अन्तर्राष्ट्रिय तथा भारतीय पर्यटकहरू गौशाला, तिलगंगा, बौद्ध तथा आसपासका क्षेत्रमा बसोबास गर्ने भएकाले त्यहाँको होटल व्यवसाय र बजारमा यात्रु घट्ने उनले बताए।
भक्तपुर क्षेत्रबाट पुर्व पश्चिम आउने जाने यात्रु तथा एयरपोर्ट एरियाबाट बाहिरीने यात्रुहरूको सुविधालाई समेत ध्यान दिनुपर्ने बताए। यस्ता यात्रुहरूलाई सीधै आफ्नो स्थानबाट सेवा उपलब्ध हुँदा सहज हुन्छ, तर सबैलाई नयाँ बसपार्कमा केन्द्रित गर्दा अनावश्यक झन्झट थपिन्छ, उनले भने।
त्यस्तै, बसपार्क क्षेत्रमा गाइडका नाममा यात्रीलाई हुने हैरानी र सास्ती नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याए। यात्रुहरूलाई गलत सूचना दिई वा अनावश्यक रूपमा पैसा असुल्ने गतिविधि नियन्त्रण नगरी सेवा केन्द्रित गर्दा थप समस्या निम्तिन सक्छ, बरालले बताए।
पूर्व–पश्चिम लामो दूरीका यात्रुहरूको सन्दर्भमा उनले भने, अहिले विभिन्न स्थानबाट बस चढ्ने सुविधा हुँदा यात्रुहरूलाई सहज छ। तर नयाँ बसपार्क मै बस सेवा हुने नियमले समय र खर्च बढ्ने अवस्था आउँछ।
उनका अनुसार हालको विकेन्द्रित यातायात प्रणालीले यात्रु चाप सन्तुलित बनाइरहेको छ। यसलाई पूर्ण रूपमा केन्द्रीकरण गर्दा कता – कता असहज भएको बताए।
अन्त्यमा बरालले महानगरपालिकालाई निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै भने, यात्री, पर्यटन र व्यवसाय सबैलाई ध्यानमा राखेर व्यवहारिक, सन्तुलित र सेवा मैत्री यातायात व्यवस्था लागू गर्नु पर्ने उनको भनाई छ ।
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश यस प्रदेश अन्तर्गतका १३ वटा जिल्लाभरि छरिएर रहेका साना, मझौला, पर्यटक स्तर तथा तारे होटलहरुको छाता संस्थाको रुपमा कार्य गरिरहेको गैर नाफामूलक गैर सरकारी संस्था हो । बि.स २०७५ सालमा काठमाण्डौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई यस संघले निरन्तर रुपमा आफ्नो मातहतका होटल तथा पर्यटन व्यवसायीहरुका बीचमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको कुरा अवगत गराउँदछौँ ।
यस संघले नेपालका ७७ वटै जिल्लामा छरिएर रहेका करिब ८० हजार भन्दा बढी होटल व्यवसायीहरुको छाता संगठनको रुपमा क्रियाशिल होटल व्यवसायी महासंघ नेपाल मातहत रहेर आफ्ना मातहतका जिल्ला संघमा आवद्ध व्यवसायीहरुको हक, हित प्रवर्द्धन र अधिकार स्थापित गर्नको लागि आवाज उठाउँदै राष्ट्रको पर्यटन प्रवर्द्घन एवं आर्थिक समृद्धिको बाटोमा अग्रसर हुँदै आईरहेको कुरा छर्लङग छ । यस संघले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, पर्यटन क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाहरु एवं सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै व्यवसायिक हक हित प्रवर्द्धन एवं देशको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आफ्नो विधानले निर्दिष्ट गरेको लक्ष्य र उद्देश्यका साथ अगाडि बढिरहेको कुरा अवगत गराउन चाहन्छौँ ।
राष्ट्रको सर्वाङगिण विकासमा सबैभन्दा बढी योगदान रहेको होटल तथा पर्यटन क्षेत्र र यस क्षेत्र अन्तर्गत रहेका सबै प्रकारका व्यवसायलाई थप व्यवस्थित र गोलबन्द गर्दै पर्यटक मैत्रि वातावरण एवं स्तरीय व्यवसाय सञ्चालनका लागि हामीले बिभिन्न खालका तालिम, गोष्ठी, सेमिनार, अभिमुखिकरण तालिम जस्ता गतिविधीहरु सञ्चालन गर्दै आईरहेका छौँ । साथै हामी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा सुविधा पुर्याउँदै व्यवसायीहरुलाई विभिन्न तालिमका कार्यक्रमहरु संञ्चालन गदै आर्थिक सम्बृद्धि तर्फ अगाडि बढिरहेका छौँ । आफ्नो प्रदेशभित्र छरिएर रहेका व्यवसायीहरुलाई एकिकृत गर्दै थप सुदृढ बनाउनुका साथै स्तरीय व्यवसायका माध्यमबाट स्तरीय सेवा प्रदान गर्दै पाहुनाहरुलाई सन्तुष्ट पार्न एवं नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्यले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमति प्रदेश निरन्तर सक्रिय रहेको छ तापनि देश विकासको मूल आधार बनेको नेपालको पर्यटन क्षेत्रको विकास र सम्वर्द्धनमा भने राज्य चुकेको अवस्था छ । पर्यटनको मूल आधारको रुपमा रहेको होटल व्यवसाय पूर्ण रुपमा धारासायी भयो भने यसले सिंगो देशको अर्थतन्त्रमा नै दीर्घकालिन रुपमा नकारात्मक असर पार्ने कुरा निश्चित प्रायः छ ।
देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका महासंघमा आवद्ध करिब ८० हजार भन्दा बढी होटल व्यवसायीहरुलाई उपेक्षा गर्नु राज्यको तर्फबाट ठूलो भुल हो । त्यसका बाबजुद पनि हामी अझै सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ र वर्तमान संकटले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योग र त्यस अन्तर्गत पनि बिशेष रुपमा प्रभावित होटल व्यवसायलाई बचाईराख्नका लागि राज्यले विशेष पहलकदमी चालोस् र सोही अनुसारका नीति नियमहरु प्रतिपादन गरी पर्यटन मैत्रि वातावरण सिर्जना गरोस् भन्ने हामी चाहन्छौँ ।
धन्यवाद ।
दामोदर नेपाल
अध्यक्ष
हामीसंग आवद्ध १३ जिल्लाका १३ वटा सदस्य संघहरु
1. जिल्ला होटल व्यवसायी संघ काठमान्डाै 2. होटल व्यवसायी संघ भक्तपुर 3. होटल तथा पर्यटन व्यवसायी संघ ललितपुर 4. जिल्ला होटल संघ धादिङ्ग 5. हाेटल व्यवसायी संघ चितवन 6. नुवाकोट होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ 7. होटल तथा पर्यटन व्यवसायी संघ रसुवा 8. काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ 9. रामेछाप होटल तथा पर्यटन व्यवसायी संघ 10. होटल तथा पर्यटन व्यवसायी संघ दाेलखा 11. मकवानपुर होटल एशोसियसन 12. सिन्धुली होटल व्यवसायी संघ 13. सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ