होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको छैठौँ साधारणसभा सिन्धुपाल्चोक जिल्लाको सुन्दर पर्यटकीय नगरी सुकुटेमा मिति २०८२ माघ १८ र १९ गते सम्पन्न भएको छ। सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको सह-आयोजनामा सम्पन्न उक्त साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके ज्यूले गर्नु भएको थियो। उक्त साधारणसभामा बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाबाट प्रदेश संघमा आवद्ध होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साधारणसभालाई सम्बोधन गर्दै अतिथि वक्ताहरूले नेपाल प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा भौगोलिक विविधताले भरिपूर्ण मुलुक भए पनि पर्यटन क्षेत्रको जुन ढंगले विकास हुनु पर्ने हो, त्यसरी हुन नसकेको र नेपालको पर्यटन विकासले उचाइ चुम्न नसक्नुमा राज्यका सम्बन्धित निकायहरूको कमजोर व्यवस्थापन, नीतिगत अस्पष्टता, पूर्वाधार विकासको कमी, प्रशासनिक ढिलासुस्ती एवम् सरकारले पर्यटन क्षेत्रको विकासलाई महत्व नदिनु आदि मुख्य कारणले गर्दा नै होटल तथा पर्यटन उद्योगले गति लिन नसकेको उहाँहरूले दाबी गर्नु भएको थियो। देशमा आइपर्ने हरेक खालका दैवी प्रकोप होस् या अन्य विभिन्न खालका विपदहरूबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भने कै होटल तथा पर्यटन व्यवसाय हो भन्दै व्यवसायीहरूले वर्तमान अवस्थामा पनि त्यस प्रकारका समस्याहरूले निम्त्याएका असरहरूबाट यो क्षेत्र प्रभावित भइरहेको वर्तमान विषम परिस्थितिमा पनि व्यवसायलाई जोगाइराख्न, राज्यलाई कर तिर्न, रोजगारी सिर्जना गर्न र सेवाको गुणस्तर कायम राख्न व्यवसायीहरू प्रतिबद्ध रहेको जनाइएको छ। वर्तमान अवस्थामा सिंगो पर्यटन व्यवसायले नै भोगिरहनु परेका चुनौती, अवसर र सम्भावनाबारे गहन छलफल भएको उक्त साधारणसभामा आयोजक संस्था होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिकालाई अझ बढी सशक्त बनाउँदै राज्यका सरोकारवाला निकायहरुसँगको सहकार्यमा व्यवसायिक मर्यादा, गुणस्तर र सेवामा सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ। साथै, युवा जनशक्तिलाई सीपमूलक तालिम मार्फत सक्षम बनाउँदै स्वदेश मै रोजगारीका अवसर सिर्जना गर्न संघले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाएको छ। त्यसैगरी, कार्यक्रमको अन्त्यमा बागमती प्रदेश अन्तर्गत रहेका सबै १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरूको हक हित, प्रवर्द्धन र विकासका लागि संघ एकताबद्ध भएर अघि बढ्ने निर्णय गर्दै संघको छैठौँ साधारणसभा सम्पन्न भएको छ। प्रदेश संघका अध्यक्ष दामोदर नेपाल ज्यूको अध्यक्षतामा आयोजित उक्त साधारणसभा समुद्घाटन समारोहका विशिष्ट अतिथि, होटल व्यवसायी महासंघ नेपालका सल्लाहकार भागिरथ शर्मा, अतिथिहरु होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्यद्वय मोहन थेबे र ज्ञान बहादुर गजमेर, विभिन्न जिल्ला होटल व्यवसायी संघका अध्यक्ष लगायत प्रतिनिधिहरुको उत्साहजनक उपस्थिति रहेको थियो भने संघका महासचिव सुनिल अर्यालले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नु भएको थियो। उक्त अवसरमा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापालाई संस्था आवद्धताको प्रमाण पत्र प्रदान गरिएको थियो भने होटल व्यवसायी संघ-चितवनका अध्यक्ष ऋषिकेश अर्याललाई विगतमा प्रदेश संघको पूर्ण बैठक तथा डिजिटल तालिम सञ्चालनमा निर्वाह गर्नु भएको भूमिकाको कदर गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो।